काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र लेखेकोमा जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा हिजो राती लेख्दै थापाले एमसीसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरित रहेको पनि टिप्पणी गरेका छन् । थापाले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसिसीका पदाधिकारीलाई २९ सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरीत रहेको बताएका हुन् ।
एमसिसीलाई पठाएको पत्र कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको उनको दावी रहेको छ । उक्त पत्र अहिलेसम्म गोप्य राख्नु आपत्तिजनक रहेको भन्दै उनले उनीहरूले जनता समक्ष माफी माग्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र पठाएको खुलासा भएपछि प्रचण्डलाई लक्षित भट्टराईको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।
देउवा र प्रचण्डले संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाई एमसीसीलाई लिखित पत्र नै पठाएको खुलासा भएको हो । यसअघि देउवाले एमसीसीलाई पत्र पठाएको भनेर संकेतसम्म दिएका थिए भने प्रचण्डले सो कुरालाई अस्वीकार गर्दै आएका थिए ।
गत कात्तिक १८ गते स्कटल्यान्डको ग्लास्गोमा जारी कोप-२६ मा सहभागिता भएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी कार्यान्वयनको प्रतिवद्धता जनाई एमसीसीलाई पत्र पठाएको खुलासा गरेका थिए । तर प्रचण्डले भने एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता सहितको पत्र नपठाइएको जिकिर गर्दै आएका थिए ।
थापाले लेखेका छन्, ‘प्रम देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा MCCका पदाधिकारीलाई २९ सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित छ । कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको छ।सो पत्र अहिले सम्म गोप्य राख्नु आपत्तिजनक छ । उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ ।’
प्रम देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा MCCका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित छ। कानुन,संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको छ।सो पत्र अहिले सम्म गोप्य राख्नु आपत्तिजनक छ।उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ।
— Kamal Thapa (@KTnepal) February 6, 2022