१३ पुस २०८१, शनिबार

राजनैतिक असहमतिले मानवअधिकारको हनन् :प्रधानमन्त्री


kp oli

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मानवाधिकारको रक्षा र संरक्षण गर्न प्रतिबद्ध भएको बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगको १७औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित चियापानमा उनले मानवअधिकारको अवस्था अझ सुदृढ बनाउँदै लैजानु पर्ने बताए। उनले भने, ‘ मानवा अधिकारको अवस्था अझ सुदृढ बनाउनुपर्छ, मानवअधिकारको रक्षाका लागि सरकार सदा समर्पित रहनेछ।’
प्रधानमन्त्री ओलीले बेला बेलामा हुने गरेको राजनीतिक असहमतिका कारण पनि मानवाधिकारको हनन हुने गरेको बताउँदै राजनीतिक दलबीचको समस्याको चाँडै समाधान खोज्ने बताए।

आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकारको संरक्षण गर्नका लागि राजनीतिक दलबीच देखिएको असमझदारीलाई चाँडो सहमति गर्दै भूकम्पबाट घरबारविहीनलाई बर्खाअगावै आवास निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न सरकारलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै मानवको स्वतन्त्रता, समानता, मर्यादा र सम्मानपूर्वक बाँच्न पाउने विषय मानिसको नैसर्गिक अधिकारका रुपमा लिनुपर्नेमा जोड दिए।

सो अवसरमा ‘आयोगले गरेका महत्वपूर्ण सिफारिसको सँगालो-२०७३’ र गतिविधि समेटिएको ‘संवाहक’ पत्रिका सार्वजनिक गरिनाका साथै पन्ध्र वर्षदेखि निरन्तर सेवा गर्दै आउनुभएका आयोगका छ कर्मचारीलाई सम्मान गरियो।

आयोगले ‘दयाराम परियार मानवअधिकार स्मृति सम्मान, २०७२’बाट जनकपुरका पत्रकार श्यामसुन्दर शशि र बेचबिखनमा परेका महिलाको उद्धार तथा पुनःस्थापना गर्दै आउनुभएकी चरिमाया तामाङलाई पनि सम्मान गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !