२ बैशाख, कपिलवस्तु । कृषि, मूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको मायादेवी गाउँपालिका ७ हरनामपुरमा आयोजित खुल्ला दिशामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृषि अनुदानमा हुने दुरुपयोग रोक्न सरकारले विशेष व्यवस्था ल्याउने बताए ।
मिहिनेती किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदान वास्तविक किसानसम्म नपुगेको दाबी गर्दै मन्त्री खनालले अब सिधैँ किसानको हातमा पुग्ने व्यवस्था मिलाइरहेको जानकारी दिए ।
मन्त्री खनालले सिंहदरबारवाट निस्कने अनुदानको रकमवीचमै हराउने रोगको अब अन्त्य गरिने बताए । बाँझो खेतमा हरियाली बनाउने गरी अबको बजेटमा विशेष सुपरजोन लागू गरिने समेत जानकारी दिए ।
मन्त्रीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाको जमिनमा उत्पादन हुने बालीको विशेषताका अधारमा सुपरजोन, जोन तथा पकेट क्षेत्र निर्माण गरिने पनि बताए ।