२४ पुस २०८१, बुधबार

एमाले अध्यक्ष ओली विरुद्धको उजुरी जिप्रका भक्तपुरद्वारा दर्ता


केपी ओली यूवा संघको कार्यक्रममा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता गरेको छ । सोमबार संक्रमण फैलाउन नहुने कसूरमा अध्यक्ष ओलीविरूद्ध उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालय भक्तपुर स्रोतले जानकारी दिएको हो ।

प्रशासन कार्यालयमा आइतबार नै संक्रमित हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको भन्दै अभिजित अधिकारी र वीरेन्द्र मडैले हुलाकमार्फत् उजुरी पठाएका थिए । तर प्रमुख जिल्ला अधिकारी कार्यालयमा नहुँदा दर्ता भएको थिएन । उजुरीमा अध्यक्ष ओलीमाथि संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्न माग गरिएको छ ।

अध्यक्ष ओली कोरोना संक्रमण भएको चौथो दिनमा गत माघ १२ गते एमालेको भातृ संगठन युवा संघले बालकोटमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर संक्रमण फैलाएको आरोप उनीहरुले ओलीलाई लगाएका छन् । उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेको बताउँदै उनीहरुले पठाएको उजुरी आज सोमबार दर्ता भएको हो । कोरोना संक्रमित भइ जानीजानी सार्वजनिक स्थलमा गइ अन्य व्यक्तिहरुसँग सम्पर्कमा आइ कोरोना संक्रमण फैलाउने कार्य गरेकोले विधिको शासनलाई अनुशरण गर्दै संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम ओलीलाई यथाशीघ्र कारबाही गर्न निवेदनमा माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ ६ गतेदेखि कोरोना संक्रमण फैलिन नदिनका लागि एक आदेश जारी गरेको थियो । आदेशमा कोरोनाको लक्षण देखिए पनि ५ दिन क्वारेन्टिनमा बस्न भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !