काठमाडौं । उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । यसअघि समन्वय समितिको बैठक गत मंगलबार पनि बसेको थियो ।
राष्ट्रियसभा निर्वाचन र अन्य निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक आज दिउँसो ४ बजे बस्न लागेको हो । सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको आज बस्न लागेको बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणा लगायत विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।
गत मंगलबार बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध जारी राखेकोले अव संसद चलन नसक्ने भएकोले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेकोले सो विषयले पनि आजको बैठकमा स्थान पाउने देखिन्छ ।
निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि संसद र प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव आजको बैठकका मुख्य एजेण्डा रहेको बताइएको छ ।
आगामी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संवैधानिक प्रावधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्यनजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसकेपनि आज बिहिवार पुनः बैठक बस्न लागेको हो ।
११ जना सदस्य रहेको सत्ता गठबन्धनका ५ दलबाट राजनीतिक समन्वय समितिमा प्रधानमन्त्री पनि बैठकमा उपस्थित हुने गर्छन् । समन्वय समिति कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरू रहेका छन् ।