१० मंसिर २०८१, सोमबार

प्रकाशमानलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने देउवाको तयारी


शेरबहादुर देउवा, प्रकाशमान सिंह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रकाशमान सिंहको गुन तिर्ने भएका छन् । काँग्रेस सभापतिमा निर्वाचित हुन धर्मसंकट परेका बेला साथ दिएका सिंहलाई प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने तयारी गरेका हुन् ।

सिंहलाई भेट्न देउवा ठमेलको चाक्सीबारी पुगेपछि कांग्रेस सभापति पदको दोस्रो चरणको निर्वाचनमा नेता सिंहले देउवालाई समर्थन गरेका थिए । काँग्रेस सभापतिको पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार बनेका सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई सभापतिमा सहयोग गरेका थिए ।

यसअघि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन हारेका शिर्ष नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनय गर्दा पहिलो चरणको निर्वाचनमा पार्टी सभापतिमा पराजित सिंहलाई पहिलो बैठकबाट केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

प्रधानमन्त्री देउवाले हिजो शनिबार अपरान्ह नेता सिंहलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएका थिए । सिंह काठमाडौंका जिल्ला काँग्रेस सभापति सबुज बानियाँलाई साथमा लिएर बालुवाटार पुगेका सिंह र प्रधानमन्त्री देउवाबीच करिब १ घण्टा छलफल भएको थियो ।

प्रधानमन्त्री भएको ६ महिनापछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै विस्तारको तयारी गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल र रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएपछि मन्त्रीविहीन बनेका दुई मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् ।

देउवाले सिंहलाई उपप्रधानमन्त्रीसहित सरकारमा ल्याउन चाहेका छन् । मन्त्री बन्न तयार भए प्रधानमन्त्री देउवाले सिंहलाई उपप्रधानसहित गृहमन्त्री बनाउने प्रवल सम्भावना रहेको छ । वर्तमान गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्रीको जिम्मेवारी दिएर देउवाले सिंहलाई गृहमन्त्री बनाउन चाहेका हुन् ।

देउवाले आफूलाई संकट परेको बेला सभापतिमा समर्थन गरेर संकटमोचन गरेका सिंहलाई महत्वपूर्ण जिम्मेवारी दिनेमा कुनै दुईमत छैन । सिंह सरकारमा सहभागी नभएमा सिंहको सिफारिसमा राजन केसीलाई मन्त्री बनाउने तयारी पनि भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !