१२ असार २०८१, बुधबार

संवैधानिक व्यवस्थाले भेट हुन बाध्य पार्यो : नेता कँडेल


यमलाल कँडेल

कर्णाली । नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले संवैधानिक व्यवस्थाका कारण सरकारलाई प्रतिपक्षी दलसँग भेट हुन बाध्य परेको बताएका छन् । उनले असार महिना यता प्रदेशसभाको अधिवेशन नचले पनि सरकारमा निकै फेरबदल भएको बताए ।

गठबन्धन सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बधाई ज्ञापन गर्दै नेता कँडेलले नवगठित सरकारको अहिले नै टिप्पणी गर्ने बेला नभए पनि प्रदेशभरि सरकारका कति योजना छन् भन्नेमा प्रदेशसभा सदस्य सुसूचित हुन पाउनुपर्ने धारणा राखे । उनले भने, “विकास गर्नेभन्दा खाने संस्कृति कर्णालीमा मौलायो, समाजलाई चाहिनेभन्दा घरलाई चाहिने पाँच÷सात लाखका योजना सरकारले वितरण गर्दै आएको छ, भरपोषण योजनामा बजेट विनियोजन गरिएको छ ।”

मुख्यमन्त्री रोजगार कार्यक्रमले सुशासन प्रत्याभूति दिन नसकेको, कार्यविधि मुख्यमन्त्री केन्द्रित बनेको र पूँजीगत बजेटलाई दान दातव्य बाँड्ने गरी सरकारले कार्यविधि बनाएको नेता कँडेलले आरोप लगाए । झ्याल झ्यालमा मन्त्रालयको साइनबोर्ड झुण्ड्याउने कामलाई सरकारले बढावा दिएको उनको भनाइ थियो ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द)का प्रमुख सचेतक ठम्मर विष्टले मुख्यमन्त्रीले सरकार पूर्णतालाई जिम्मेवारीका साथ लिनुपर्नेमा जोड दिए । कर्णालीले हरेक मामिलामा कीर्तिमानी कायम गरेको भन्दै उनले बजेट प्रणालीमा अपारदर्शिता बढ्दै गएको र जनप्रतिनिधिलाई पनि अवगत हुनुपर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य देवी ओलीले कोही कसैले कसैलाई कटाक्ष गर्नु औचित्य नरहेको बताए । कर्णालीको विकास र संविधान कार्यान्वनयमा भएका अपुगताको समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली काग्रेस प्रदेशसभा सदस्य यज्ञबहादुर बुढाक्षेत्रीले सहमति, सहकार्य र समझदारीले मात्र कर्णालीको विकास हुने बताए । विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै सरकार अघि बढ्नुपर्ने सदस्य बुढाक्षेत्रीको सुझाव थियो । अर्को बैठक आगामी माघ २ गते ३ः०० बजे हुने जानकारी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !