१३ बैशाख २०८१, बिहिबार

माओवादी केन्द्रीय सदस्यका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउन माग


माओवादी महाधिवेशनको बन्दसत्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको जारी बन्दसत्रमा सहभागी प्रतिनिधिहरुले पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गराउनुपर्ने माग गरेका छन् ।

गण्डकी प्रदेश समूह नम्बर १० मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि भएको छलफलको निष्कर्ष सुनाउँदै गायत्री गुरुङले यस्तो बताएकी हुन् । संघीय संरचना अनुसारको वैज्ञानिक शिक्षा नीति र कोभिडले अर्थतन्त्रमा पारेको प्रभावबारे पनि उल्लेख गर्न पनि उनले सो सुझाव दिएकी हुन् ।

कर्मचारीहरु, नेता-कार्यकर्ता तथा कम्तीमा पनि केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने, नेतृत्वको जीवनशैली सरल र व्यवस्थित बनाउन ध्यान दिनुपर्ने उनले बताइन् ।

उनले एक व्यक्ति दुई पटकभन्दा बढी लाभको पदमा जान नपाउने नीति लागू गर्नुपर्ने र एक परिवारका दुई वा दुईभन्दा बढी व्यक्तिलाई एकै पटक लाभको पदमा जाने व्यवस्था बन्द गरिनुपर्ने पनि बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !