१३ बैशाख २०८१, बिहिबार

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता


वर्षमान पुन र चेन झाओ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच आज भेटवार्ता भएको छ । स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गरेको नेता पुनको सचिवालयले जनाएको छ ।

उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्वसभामुख ओनसरी घर्ती पनि सहभागी थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तारलगायतका विषयमा विस्तृत छलफल गरेका हुन् ।

“उहाँहरुले माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र सबैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो”, नेता पुनको सचिवालयले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ । सो क्रममा नेपालको समसामयिक राजनीति, वामपन्थीबीचको सहकार्य र एकताका विषयमा कुराकानी भएको थियो ।

चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टका बीचमा पार्टी एकता गर्ने, त्यो सम्भव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए । थप उपचारका लागि चीन पुग्नुभएका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उहाँ द्विपक्षीय भेटवार्तामा जुटेका हुन् ।

वंशाणुगत तथा विश्वमा वीरलै देखिने जण्डिस रोगका कारण झण्डै तीन महिनादेखि उपचार गराइरहनुभएका नेता पुन माओवादीको आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचारारत छन् । उपचारका लागि केही परिक्षण थाती राखेर अधिवेशन उद्टघान अघि नै नेपाल आउन चाहेको नेता पुन अध्यक्ष प्रचण्डसँगको परामर्शमा चिनियाँ नेतासँगको भेटवार्ताको समयसमेत तय भएकाले अनुपस्थित भएका हुन् ।

चिकित्सकको सल्लाह पछि अब छिट्टै नेपाल फर्कने उहाँको सचिवालयले जनाएको छ । जण्डिस दोहोरिएपछि नेता पुन गत असोज १३ गते बैंकक गएका थिए । उनको गत मङ्सिर १० गतेदेखि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ । नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु