काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भएको छ । माओवादीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, छ उपाध्यक्ष, महासचिव एक, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारी रहने विधानमा प्रस्ताव गरिएको छ ।
माओवादी केन्द्रको राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेलगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।
पदाधिकारीलाई पनि समावेशी बनाइने गुरुङले जानकारी दिए । यस्तै केन्द्रीय समितिमा १० प्रतिशत मनोनीत गर्न सकिने प्रस्ताव गरिएको छ । विधान मस्यौदा प्रस्तुत भएलगत्तै जनगायक शम्भु राईले साङ्गीतिक प्रस्तुति दिएका थिए ।