७ मंसिर २०८१, शुक्रबार

चितवनबाट पहिलोपटक कांग्रेस केन्द्रीय सदस्यमा ५ जना निर्वाचित


नेपाली कांग्रेस

चितवन । नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य हुनुभएको भए पनि निर्वाचित सदस्य अहिलेसम्म कोही हुन सकेका थिएनन् । चौधौँ महाधिवेशनबाट कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठ, तत्कालिन संविधानसभा सदस्य अञ्जनी श्रेष्ठ, नेता दिनेश कोइराला र शान्ति परियार विक निर्वाचित भएका छन् । महाधिवेशनमा जिल्लाबाट १३ जनाले केन्द्रमा उम्मेदवारी दिएका थिए ।

कांग्रेसको राजनीतिमा पाँच पटकसम्म चितवनको सभापति भएर काम गर्नुभएका गुरुङ आदिवासी जनजाति कोटाबाट केन्द्रीय नेतृत्वमा पुग्न सफल भएका हुन् । विसं २०१८ देखि कांग्रेसको राजनीतिमा सक्रिय गुरुङले २०७० सालको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई चितवनबाट जिताउन टिकटसमेत त्यागेर सहयोग गरेका थिए ।

यस्तै व्यापारिक पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा आउनुभएका श्रेष्ठ हाल प्रधानमन्त्री कार्यालयका बहालवाला राज्यमन्त्री हुन् । केही समय स्वास्थ्य राज्यमन्त्री बनेका श्रेष्ठ शिक्षा, स्वास्थ्य, जलविद्युत् र पर्यटन व्यवसायसँगै बैंकिङ क्षेत्रका ठूला लगानीकर्ता हुन् ।

श्रेष्ठ पनि चितवनबाटै प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय जिम्मेवारीमा पुग्न सफल भएका हुन् । पार्टीको १३औँ महाधिवेशनमा पनि महासमिति सदस्य हुनुभएका श्रेष्ठ चितवन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । तत्कालिन संविधानसभा सदस्यको जिम्मेवारीसमेत निर्वाह गरी सक्नुभएका श्रेष्ठ अहिले प्रतिनिधि सभा सदस्य रहेका छन् ।

नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएकी नेत्री अञ्जनी श्रेष्ठ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । आदिवासी जनजाति कोटाबाटै केन्द्रीय समितिमा प्रवेश गर्नुभएकी श्रेष्ठ तत्कालिन संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए । कांग्रेस चितवनको जिल्ला कार्यसमितिमा रहेर काम गरेका उनी पद्मकन्या क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनकी सभापतिसमेत भएर काम गरेका थिए ।

विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेता दिनेश कोइराला भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार थिए । नेकपा (माओवादी केन्द्र)सँग तालमेल हुने भएपछि उहाँले उम्मेदवारी छोडेका थिए । स्थानीय तह निर्वाचनमा टिकट फिर्ता लिएपछि उनी त्यसपछिको निर्वाचनमा चितवन–३ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बने । कोइरालाले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी सन् २००८ मा जेसीजको राष्ट्रिय अध्यक्ष भएका थिए ।

यस्तै विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा सक्रिय परियार दलित सङ्घ चितवनकी अध्यक्ष हुन् । दलित समुदायको मुद्दालाई अघि बढाउँदै आउनुभएकी उहाँ पहिलोपटक केन्द्रीय समितिमा पुग्न सफल भएका छन् । निर्वाचित तीन जना संस्थापन समूह र दुई जना संस्थापन इतर समूहबाट निर्वाचित भएका हुन् । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ भने झिनो मतान्तरले पराजित भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !