१२ असार २०८१, बुधबार

उपसभापतिको मतगणना : देउवा प्यानका खड्का र गच्छदारको अग्रता कायमै


विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा साँझदेखि शुरु भएको हो ।

केहीबेर अघिसम्म ३९५८ मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले १८१०, विजयकुमार गच्छदारले १६५३, धनराज गुरुङले १६४२, डा. चन्द्र भण्डारीले १३४० मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मतगणना तीन स्थानमा भइरहेको छ । सोमबार भएको मतदानमा उपसभापति दुई पदका लागि उनीहरुले उम्मेदवारी दिएका थिए । जम्मा ४७४३ मतदातामध्ये ४६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना शुरु गरिने समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !