७ मंसिर २०८१, शुक्रबार

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा भएको पुनः मतदान सकियो


दोस्रो चरणमा भएको पुनः मतदान सकियो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज भएको पुनः मतदान कार्यक्रम सकिएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनःनिर्वाचन भएको थियो ।

आज दिउँसो ३ः३० बजेदेखि शुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको हो । उक्त मतदानको मतगणना केही बेरमा सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानमा ४७४३ मतदातामध्ये ४५६४ ले मतदान गरेका छन् ।

सोमबारको तुलनामा आजको मतगणना सुरु गर्दा कम समय लाग्ने बताइएको छ । मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका शिलबन्दी गरी मुचुल्का बनाएर गणना सुरु गरिने समितिले जनाएको ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको मतदान भएको हो ।

सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !