६ बैशाख २०८१, बिहिबार

सभापति देउवाले गरे काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन


सभापति देउवाले गरे उद्घाटन फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन् । राजधानीको भृकुटीमण्डपमा पार्टी सभापति देउवाले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

दिउँसो १ बजेबाट शुरु हुने पूर्व निर्धारित महाधिवेशनको उद्घाटन सत्र सवा १ घण्टा ढिला सुरु भएको हो । ‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली काँग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ काँग्रेसको महाधिवेशन शुरु भएको छ ।

काँग्रेसको उद्घाटन समारोहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा (माले) का महासचिव सिपी मैनालीसहितका शीर्ष नेताहरु सहभागी भएका छन् ।

आज २४ देखि २७ मंसीरसम्म हुने महाधिवेशनका कार्यक्रम पनि तय गरिएका छन् । ४ दिनसम्म करिब ५००० कांग्रेसका महाधिवेशन प्रतिनिधिले यो स्थानमा छलफल र बहस गरेर नयाँ नेतृत्व चुन्नेछन् ।

उद्घाटन भएपछि भृकुटीमण्डपको हलमा बन्दसत्र हुनेछ । बन्दसत्रपछि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा चुनावी कार्यक्रम हुने जनाइएको छ । महाधिवेशनमा २०० जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ ।

राष्ट्रिय सभागृहमा कांग्रेसले मतदान गर्न २०० बुथ राख्न राख्ने भएको छ । महाधिवेशनमा सहभागी हुने ४५०० भन्दा बढी प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ । एक जनालाई मतदान गर्न कम्तीमा पनि एक घण्टाभन्दा बढी लाग्नेछ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा कांग्रेसले १५० भन्दा बढीलाई मञ्चमा राखेर महाधिवेशनको उद्घाटन गर्ने तयारी गरेको छ । १५० जना बस्ने र ४० जना नाच्ने मञ्च बनेको छ । विदेशी पाहुना, नेता र कलाकार गरी मञ्चमा तीन स्टेपमा बस्न मिल्ने बनाइएको छ ।

रातिका समयमा पनि कार्यक्रम गर्न सकिने गरी बत्तीको व्यवस्था गरिएको छ । इन्टरनेटको सहजताका लागि महाधिवेशनस्थलमा नेपाल टेलिकमको टावर स्थापना गरिएको छ । मिडिया सेन्टर, सहायताकक्ष तथा विभिन्न होल्डिङ सेन्टरसमेत बनाइएको छ ।

महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका ठमेल, सुन्धारा र गौशलामा गरी तीन ठाउँमा होटल बुकिङ गरिएको छ । त्यहाँ हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङ गरिएको छ ।

समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि खानाको व्यवस्था गर्न लागेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड र बसुन्धराको दियालो फुडल्याण्डमा भोजनको व्यवस्था गरिएको । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म खानाको व्यवस्था गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !