१० माघ २०८१, बिहीबार

कांग्रेस महाधिवेशन : यस्तो छ उपत्यकाको ट्राफिक व्यवस्थापन


निषेधाज्ञा जारी भएका जिल्लाहरुमा आजदेखि थप कडाइ फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसको आजदेखि शुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन समारोहका बेला आज हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्रााफिक मात्रै ३५० बढी परिचालन गरिएको जानकारी दिए । नियमित ड्युटीमा रहने प्रहरी यथावत रहनेछन् ।

उनले उपस्थिति र सवारीको चाप हेरेर आवश्यकतानुसार सवारी रुटको डाइभर्सन हुने पनि जानकारी गराए । यसपालि नेपाली कांग्रेसले महाधिवेशनमा प्रतिनिधि र स्वतःस्फूर्त आउने व्यक्तिहरु मात्रै उपस्थित हुने जनाइसकेको छ । यद्यपि थोरै मानिसको भीड हुनेबित्तिकै उपत्यकाको सवारी आवागमनमा चाप पर्ने हुँदा सोहीअनुसारको व्यवस्थापन गरिएको छ ।

कार्यक्रमस्थलमा सवारी जाम नहोस् भनेर प्रहरीले पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट ट्राफिक डाइभर्सन गरेको छ । त्यस कार्यका लागि १८ ट्राफिक प्रहरी खटाइएको छ । टुँडिखेल वरपर अत्यधिक सवारी साधनको चाप भएमा भने त्रिपुरेश्वर चोक, बालाजु चोक, नारायणगोपाल, कलङ्की, बल्खु, जावलाखेल, तीनकुने र गौशाला चोकबाट नै डाइभर्सन गर्ने गरी सुरक्षा योजना बनाइएको छ । त्यस कार्यका लागि २४ ट्राफिक प्रहरी खटाइएको छ ।

महाशाखाका अनुसार झण्डावाला, पार्टी अध्यक्षहरू र विदेशी पर्यवेक्षकका सवारी साधनका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाइएको छ । अन्य भिआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा राखिने छन् । महाधिवेशन प्रतिनिधिका सवारी साधन खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्वभाषा क्याम्पसलगायत आसपासका खुला क्षेत्र तोकिएको छ ।

यसरी सवारी रुट र त्यस क्षेत्र तथा आसपासका लागि महाशाखाले एक प्रहरी उपरीक्षक, दुई प्रहरी नायब उपरीक्षक, तीन प्रहरी निरीक्षक, २५ जुनियर प्रहरी अधिकृत, ६५ प्रहरी हवल्दार र जवानसहित ९५ ट्राफिक प्रहरी खटाएको छ । अन्य सम्भावित क्षेत्र र आवश्यकता हेरी ट्राफिक परिचालन गरिने छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !