७ बैशाख २०८१, शुक्रबार

कांग्रेस महाधिवेशनमा ४७०७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने


कांग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि काठमाडौंमा तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबारबाट काठमाडौंमा कांग्रेसका झण्डा र चुनाव चिह्न सडकका पोलमा राख्न  शुरूआत गरिएको थियो ।

मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा लगाउने अभियानको प्रारम्भ गरेका थिए । प्रचारको विविध प्रक्रिया अनुसार, आज सडकका पोलमा झण्डा लगाउने तथा विभिन्न स्थानमा स्वागत गेट बनाउने कार्य प्रारम्भ गरेको उनले बताएका थिए ।

कांग्रेसले ‘उत्साह, एकता र रूपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४औं महाधिवेशन’ भन्ने प्रचारात्मक नारा तय गरेको छ । २४ देखि २७ मंसीरसम्म काठमाडौंमा हुने महाधिवेशनका कार्यक्रम पनि तय गरिएका छन् ।

२४ मंसीर दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुने र हलमा बन्द सत्र हुने भएको छ । त्यसपछि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा चुनावी कार्यक्रम हुने जनाइएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार, केन्द्रीय कार्य समितिको निर्वाचनका लागि यही २४ मंसीर बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने, २५ मंसीर बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने र २६ मंसीर बिहान ८ देखि १० बजेसम्म मनोनयनपत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्यतालिका छ ।

यसै गरी २६ मंसीर बिहान १० देखि १२ बजेसम्म दाबी-विरोध उपर निर्णय गर्ने, दिउँसो १२ देखि ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम अनुसार पहिलो नाम प्रकाशित गर्ने, दिउँसो ३ देखि अपराह्न ४ बजेसम्म मनोनयन फिर्ता लिने, साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। त्यस्तै, २७ मंसीर बिहान ८ बजेदेखि मतदान प्रारम्भ हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुनेछ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसै गरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी-जनजाति १५, खस-आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ।

कांग्रेस महाधिवेशनमा प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने तथा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाबाट एवं विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७०७ जना महाधिवेशन प्रतिनिधि रहने भएका छन् । कांग्रेसका क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ४० हजार १०५ छ । त्यसमध्ये ६ लाख ४४ हजार ५६४ पुरुष, एक लाख ९५ हजार ३७२ महिला र १६९ अन्य रहेका छन् ।

कांग्रेसको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ सङ्कलन समिति, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिएको छ।

यसै गरी सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रचारप्रसार समिति, काठमाडौं जिल्लाका पार्टी सभापतिको संयोजक तथा ललितपुर र भक्तपुर जिल्ला सभापति सदस्य रहने उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति गठन गरिएको छ।

केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य समिति, केन्द्रीय सदस्य सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति र नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की रानाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !