काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएका कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अव बोकेर नहिँड्ने निष्कर्ष निकालेका छन् । आज बिहान दरवारमार्गस्थित याक एन्ड यति होटेलबाट भएको आफ्नो समूहको प्रारम्भिक समीक्षा बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङ्देनसँग पराजित भएलगत्तै सो होटेलमा थापा समूहबाट निर्वाचित पदाधिकारीसहितको सो निष्कर्ष निकालिएको हो । सो प्रारम्भिक समीक्षा बैठकका अधिकांश सदस्यले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकालेको हो ।
बैठकमा सहभागीका अनुसार पूर्वराजाका सचिवालयका सदस्यहरू पशुपतिभक्त महर्जन, सागर तिमल्सिना र फणिराज पाठकलगायतले प्रतिनिधि तथा नेताहरूलाई भेटघाट गरी थापाको विपक्षमा माहोल बनाएको निष्कर्षसमेत निकालेको छ । बैठकमा उपस्थित अधिकांशले पूर्वराजा शाहले धोका दिएको निष्कर्षसहित उनको सचिवालयले थापाको विपक्षमा खेलेको भूमिकाका बारेमा चर्चा गरिएको थियो ।
पछिल्लो समय कमल थापालाई हिन्दू राष्ट्र र राजतन्त्रको नारालाई राम्ररी बोक्न नसकेको आरोप लगेर पनि पूर्वराजा ज्ञानेन्द्र शाहले अध्यक्षका लागि लिङ्देनलाई ‘ग्रिनसिग्नल’ दिएका थिए । थापाले नेतृत्व गर्न नसकेको र पार्टीको एजेण्डा स्थापित गर्न सक्रिय भूमिका नखेलेको भन्दै लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
थापालाई राप्रपाको एकता लामो समय नटिकाएको र देशको एउटा मान्यता प्राप्त पार्टी बनाउन पनि अग्रणी भूमिका नखेलेको आरोप लागेको थियो । हिन्दू राष्ट्र र राजसंस्था सबै नागरिकको मुद्दा बनेपनि थापाको नेतृत्व हुँदा पार्टी बेपत्ता भएको लिङ्देनले उद्घाटन सत्रमा आरोप लगाएका थिए ।