७ मंसिर २०८१, शुक्रबार

एमालेमा नेतृत्व चयनका लागि २ घण्टा ढिला गरी शुरु गरिएको मतदान प्रक्रिया जारी


एमाले महाधिवेशन : मतदान राति ११ बजेपछि शुरु हुने

चितवन । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी रहेको छ । आज बिहान ४ बजेदेखि मतदान शुरु भएको हो । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि २ घण्टा ढिला गरी मतदान प्रक्रिया शुरु भएको हो ।

नेकपा (एमाले)का अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र डा भीम रावल तथा अन्य शीर्षनेताले मतदान गरिसक्नुभएको छ । विद्युतीय प्रक्रियामा मतदान भइरहेको छ । पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुँदैछ ।

त्यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश नं १ महिला, समावेशी क्षेत्रतर्फ दलित (खुला), थारू (खुला), पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशको महिलातर्फ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । अरू सबै पदमा सर्वसम्मत भएको छ ।

अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दिनुभएको छ । यस्तै ६ उपाध्यक्षका लागि सात र सात सचिवका लागि नौ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टङ्क कार्कीकोे उम्मेदवारी परेको छ ।

केन्द्रीय समितिमा ८४ खुला केन्द्रीय सदस्यका लागि १०० जनाको उम्मेदवारी परेको छ । प्रदेश नं १ (भौगोलिक क्षेत्र) खुलातर्फ ६ सदस्यका लागि सात जनाले उम्मेदवारी दिएका छन् भने प्रदेश नं १ महिलामा तीन सदस्यका लागि चार जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

त्यस्तै समावेशी क्षेत्रको दलित खुलातर्फ आठ सदस्यका लागि नौ जना, थारू खुलामा पाँच सदस्यका लागि ६ जना, पिछडिएको क्षेत्रमा तीन सदस्यका लागि चार तथा सुदूरपश्चिम प्रदेशको महिलातर्फ तीन सदस्यका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै छ । महाधिवेशनको उद्घाटनसत्र यही मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा भएको थियो भने बन्दसत्र सौराहामा भएको हो । सर्वसम्मत पदाधिकारी लगायत सदस्य चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !