नेकपा एमालेको १० औं महाधिवेशन यहि मङ्सिर १० गतेदेखि चितवनमा हुँदै छ। उक्त महाधिवेशनको लागि विभिन्न पदमा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।
केहि दिन अगाडीमात्र एमाले अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सर्वसमत अध्यक्ष बन्ने बाटो बन्द गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
नेता रावलले अध्यक्ष पदको लागि आफू उपयुक्त भएको भन्दै ओलीसँग अध्यक्ष पदमा लड्ने बताए। अब महाधिवेशनमा अध्यक्ष पदमा ओली र रावलवीच प्रतिस्पर्धा हुन्छ।
अर्का नेता योगेश भट्टराईले पनि पुन: सचिवमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। त्यस्तैगरी शेरधन राईले पनि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
महासचिव पदमा सुरेन्द्र पाण्डेले पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। एक मिडियासँग कुरा गर्दै पाण्डेले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
यसअघि नै पृथ्वीसुब्बा गुरुङले पनि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। त्यस्तैगरी घनश्याम भुसालले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष या महासचिव तीनमध्ये एक पदमा उम्मेदवारी दिने तयारी छ ।
नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
त्यस्तैगरी नेकपा एमालेका नेता यामलाल कँडेलले केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । नेता कँडेलले केन्द्रीय पदाधिकारीमा कर्णालीले पनि प्रतिनिधि पाउनुपर्ने धारणा राख्दै सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एमालेका नेता महेश बस्नेतले पनि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।