२३ भाद्र २०८१, आइतबार

देश दौडामा ओली र प्रचण्ड : ओली नेपालगञ्ज र प्रचण्ड महोत्तरी जाँदै


प्रचण्ड र केपी ओली

काठमाडौँ । एक अर्कामा पानी बराबरको सम्वन्ध भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश दौडामामा लागेका छन् । आज एमाले अध्यक्ष ओली नेपालगञ्जतिर जाँदैछन् भने माओवादी अध्यक्ष प्रचण्ड महोत्तरी जाने भएका छन् ।

ओली एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेपालगञ्ज जान लागेका हुन् । स्वतन्त्र राजनीतिक समूहका नेता पशुपतिदयाल मिश्रसहितको टोली आज एमाले प्रवेश गर्ने भएपछि ओली त्यसतर्फ जाने भएका हुन् ।

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र समूहको नाममा प्रतिस्पर्धा गरेका उनी राजपाका इस्तियाक राईसँग ५ हजार छ सय मतान्तरले पराजित थिए । राजपाका पूर्वकेन्द्रीय सदस्य करिम खानसहित तीन हजारभन्दा बढी अन्य पार्टीका कार्यकर्ता आज एमाले प्रवेश गर्ने एमालेले जनाएको छ ।

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि आजै महोत्तरी जाँदैछन् । रामगोपालपुर नगरपालिकाका विभिन्न वडामा रहेका स्वास्थ्य केन्द्र उद्घाटनका लागि उनी महोत्तरी जाने भएका हुन् । प्रचण्ड आउने भएपछि रामगोपालपुर नगरपालिकाले आज सार्वजनिक बिदासमेत दिइएको छ ।

नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ । सूचनाअनुसार प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !