८ मंसिर २०८१, शनिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


माओवादी स्थायी कमिटी बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा साढे ११ बजेदेखि जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल जारी रहेको एक स्थायी कमिटी सदस्यले बताए ।

जारी रहेको बैठकमा आगामी पुसमा हुने राष्ट्रिय सम्मेलन पार्टीको आन्तरिक सांगठनिक विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ । यसका साथै सोमबार मात्रै सत्तारुढ दलले गठन गर्ने भनेर गरिएको राजनीतिक संयन्त्रका बारेमा समेत बैठकमा छलफल हुनेछ ।

न्यायालय र एमसीसी विवादको बारेमा पनि आजको बैठकमा छलफल हुनसक्ने आंकलन गरिएको छ । माओवादीले यी विषयमा पार्टीको आधिकारिक धारणा सार्वजानिक गरिसकेका छैन ।

स्कटल्यान्डको ग्लास्गोमा भएको कोप-२६ सम्मेलनमा भाग लिएर स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए ।

तर शुक्रबार ललितपुरको खुमलटारस्थित आफ्नो निवासमा कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी देउसीभैलो टोलीलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने भन्दै थप समयका लागि चिठी लेखेको बताएका थिए ।

प्रचण्डले एमसीसी संशोधन नगरी कुनै हालतमा पारित नहुने बताएका हुन् । एमसीसी पास गर्न चिठी लेखेको भन्ने देउवाको अभिव्यक्तिले देउवा-प्रचण्ड सम्वन्धमा खटपट आउनुका साथै सत्तारुढ गठबन्धनमा तरंग उत्पन्न भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !