११ बैशाख २०८१, मंगलबार

वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पाए विश्वासको मत


राजेन्द्र पाण्डे फाइल फोटो

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । नेकपा (एकीकृत समाजवादी) बाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेशसभाबाट विश्वासको मत पाएका हुन् ।

आज सोमबार उनले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले समर्थन जनाएका हुन् । पाण्डेले प्रदेशसभामा रहेको सभामुखसहित १०९ मतमध्ये ५९ मत प्राप्त गरेका हुन् ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत र उनको विपक्षमा ४३ मत परेको थियो । १०९ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नको लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज प्रदेशसभामा १०४ जनाले मतदान गरेका थिए ।

विश्वासको मतसम्बन्धी प्रस्तावमा दुई मत भने तटस्थ रहेको थियो । नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएन । यस्तै विवेकशील साझा र नेमकिपाले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएन ।

प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद र एमालेका दुई सांसद अनुपस्थित थिए । राप्रपाका सांसदहरु रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदहरु गणेश दुलाल र बेलिमैया घले अनुपस्थित रहेका थिए ।

मुख्यमन्त्री पाण्डेले प्रदेशसभावाट विश्वासको मत पाएपछि अव उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् किनकी उनले विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद्लाई विस्तार गर्ने बताएका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मितिले १ महिनामा सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले आज सोमबार विश्वासको मत लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !