काठमाडौं। सर्वोच्च अदालत र एमसीसी विवादको विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज साँझ ५ बजे बस्ने भएको हो ।
यसअघि कार्तिक १९ गते शुक्रबार सर्वोच्च र एमसीसी बारेमा उत्पन्न विवादबारे संयुक्त साझा धारणा बनाउन गठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार साँझ भेटवार्ता भएको थियो ।
शीर्ष नेताबीच भएको छलफलमा प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवासँग न्यायालय विवादमा कांग्रेसको धारणा सोधेका थिए । छलफलका क्रममा प्रधामन्त्री देउवाले अझै केही दिन परिस्थिति हेरेर मात्र यस विषयमा गठबन्धले निचोड निकाल्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
न्यायलय विवादको विषयमा एकीकृत समाजवादीले गठबन्धनमा आवद्ध दलहरुसँग छलफल गरेर धारणा बनाउने निर्णय परिसकेको छ भने माओवादी, कांग्रेस, जसपा र जनमोर्चाले यस विषयमा निर्णय गरेर पार्टीको आधिकारिक धारणा सार्वजानिक गरिसकेका छैनन् ।
स्कटल्यान्डको ग्लास्गोमा भएको कोप-२६ सम्मेलनमा भाग लिएर स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए ।
तर शुक्रबार ललितपुरको खुमलटारस्थित आफ्नो निवासमा कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी देउसीभैलो टोलीलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने भन्दै थप समयका लागि चिठी लेखेको बताएका थिए ।
प्रचण्डले एमसीसी संशोधन नगरी कुनै हालतमा पारित नहुने बताएका हुन् । एमसीसी पास गर्न चिठी लेखेको भन्ने देउवाको अभिव्यक्तिले देउवा-प्रचण्ड सम्वन्धमा खटपट आउनुका साथै सत्तारुढ गठबन्धनमा तरंग उत्पन्न भएको छ ।