८ बैशाख २०८१, शनिबार

अधिवक्ता अर्यालले भने- नैतिकता गुमेको प्रधानन्यायाधीश पदमा रहिरहनु उचित हुँदैन


ओमप्रकाश अर्याल

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले नैतिकता गुमेको प्रधानन्यायाधीश पदमा रहिरहनु उचित नहुने बताएका छन् । नेपाल बार एसोसिएसनको अवज्ञा आन्दोलनमा मंगलबार युवा कानुन व्यवसायीको तर्फबाट सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा भएको बताएका हुन् ।

प्रधानन्यायाधीश पदको गरिमा उच्च नैतिक चरित्रका आधार र न्यायिक निष्ठामा मात्र कायम रहने भन्दै नैतिकता गुमेको प्रधानन्यायाधीश पदमा रहिरहनु उचित नहुने उनको तर्क छ । प्रधानन्यायाधीश जबराको राजीनामा बाहेक अन्य विकल्प नभएको भन्दै अर्यालले संवैधानिक परिषद्को नियुक्ति र संसदीय सुनुवाइका विषयमा ध्यानाकर्षण गरेका हुन् ।

उनले यति धेरै दबाब हुँदा समेत राजीनामा नदिनुले प्रधानन्यायाधीश जबराको नैतिक धरातल थप कमजोर बनेको बताए । उनले प्रश्न उठिसकेपछि पनि ‘संवैधानिक रूपमा आएको हुँ, संवैधानिक रूपमा नै बिदा लिन्छु’ भन्ने प्रधानन्यायाधीश पद नभएको बताए ।

उनले प्रधानयायाधीशले संवैधानिक बाटोकै अडान लिए त्यो संसद्को क्षेत्राधिकारभित्र जाने भन्दै प्रधानन्यायाधीशको बचेको व्यक्तित्व जोगाउन राजीनामा नै उपयुक्त बाटो हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !