१४ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए राजीनामा


कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । कर्णाली प्रदेशको सत्ता साझेदार दल नेपाली काँग्रेस भएको सहमति अनुसार सत्ता हस्तान्तरण गरेको उनले बताएका छन् ।

सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्णाली प्रदेशमा ३६ ऐन, ६ अध्यादेश, १० नियमावली, ३६ कार्यविधि र १० निर्देशिका निर्माण गरेको बताए । सङ्घीयता कार्यान्वयनका क्रममा आफू नेतृत्वको प्रदेश सरकारको ऐतिहासिक जग बसालेको, सङ्घीय सरकारसँगको समन्वयमा कर्णाली तथा भेरी करिडोर राष्ट्रिय प्रसारण लाइनको योजना अगाडि बढाइएको उनले जनाए ।

समृद्धिको आधार खडा गरी प्रदेश सरकारले समृद्धिको जग बसालेको बताउँदै उनले पर्यटन गुरुयोजना निर्माण, यस प्रदेशका ७१८ वटै वडापालिकामा रु दुई अर्ब ९६ करोड बजेट परिचालन, सुर्खेत उपत्यका खानेपानीको सम्भाव्यता अध्ययन, विद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, जडीबुटीलगायत क्षेत्रको विकासका योजनाहरू अगाडि बढाइएको सम्बोधनमार्फत जानकारी दिए ।

आजै मन्त्रिपरिषद् बैठक बसेर राजीनामा दिएका मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा ६ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिएपछि कांगेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।

कांग्रेस प्रदेशसभा दलका नेता जीवन शाहीले मुख्यमन्त्रीकै सहमतिअनुसार आफू मुख्यमन्त्री बन्ने बताए । “हामीबीच भद्र सहमतिअनुसार उहाँले राजीनामा दिनुभएको छ,” रासससँग कुरा गर्दै उनले भने, “मुख्यमन्त्रीले राजीनामापश्चात् दुई/चार दिन पर्खन अनुरोध गरे त्यहीअनुसार आफू मुख्यमन्त्री बन्ने सोच गरेको छु ।”

गत वैशाख ३ गते भएको ११ बुँदे सहमति अनुसार काँग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सम्झौता गरिएको थियो । मुख्यमन्त्री शाहीले पूर्वसहमति अनुरुप आज सत्ताको नेतृत्व हस्तान्तरण गर्नुपर्ने काँग्रेसको माग गरेको थियो । कर्णालीमा काँग्रेसले मुख्यमन्त्री शाहीले सत्ता हस्तान्तरण नगरे सरकारबाट बाहिरिने चेतावनी दिएपछि शाही राजीनामा दिन बाध्य भएका हुन् ।

तत्कालीन नेकपा एमालेबाट फ्लोर क्रस गरेर मन्त्री बनेका ३ जना आज स्वतः पदमुक्त भएका छन् । नेकपा बिभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीलाई काँग्रेससहित नेकपा एमालेका तत्कालीन ४ सांसदले विश्वासको मत दिएपछि उनको पद जोगिएको थियो ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शाहीले पदबाट राजीनामा दिएसंगै कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई कर्णालीको नयाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

कांग्रेस र माओवादीबीच कर्णालीमा आलोपालो गर्ने सहमति भएको थियो । काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी भएको थियो ।

मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामको विवरण प्रस्तुत गरे र राजीनामा घोषणा गरेका हुन् । सरकारले गरेका कामको लामो फेहरिस्त प्रस्तुत गरेका शाहीले जाँदा जाँदै आफूलाई साथ दिने राजनीतिक दल र कर्मचारीलाई धन्यवाद ज्ञापन गरे ।

उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको पनि जिकिर गरे । शाही ३ वर्ष ८ महिनापछि प्रदेशको सत्ताबाट बाहिरिएसँगै काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।

यस्तो छ हेर्नुहोस् मुख्यमन्त्री शाहीको सम्बोधनको पूर्णपाठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !