८ बैशाख २०८१, शनिबार

प्रदेश १ मा राजेन्द्र राईले पेश गरे मुख्यमन्त्रीमा दाबी


प्रदेश १ मा राजेन्द्र राईले पेश गरे मुख्यमन्त्रीमा दाबी

बिराटनगर । प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट राजीनामा दिएको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्वीकृत गरी मुख्यमन्त्री पदमा दावी पेश गर्न आह्वान गरेलगत्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री पदमा दाबी पेश गरेका छन् ।

प्रदेश १ को विपक्षी गठबन्धनले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रस्ताव आह्वान गरेलगत्तै गठबन्धनले ४९ जना सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेको हो । नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।

आज साेमबार दिउँसाे प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै प्यासीले भोलि मङ्गलबार दिउँसाे १ बजेसम्म संविधानकाे धारा १६८ काे उपधारा २ बमाेजिम सरकारमा दाबी पेश गर्न आह्वान गरेपछि पाँच दलीय गठबन्धनले दाबी पेश गरेकाे हाे ।

९२ सदस्य रहेको प्रदेशसभामा वहुमतको लागि ४७ जना सांसद चाहिन्छ । एमालेसँग ४१ जना सांसद रहेका छन् । प्रदेश १ मा विपक्षी गठबन्धनसँग ५० जना सांसद रहेका छन् ।

गठबन्धनमा रहेको कांग्रेससँग २१ जना, माओवादी केन्द्रसँग १५ जना, नेकपा एकीकृत समाजवादीसँग १० जना, जसपासँग ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १ जना सांसद रहेका छन् । १ जना मात्र सांसद रहेको राप्रपाले अहिलेसम्म कुनै कित्ता क्लियर गरिसकेको छैन ।

नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण भोलि मंगलबार दिउँसो हुनेछ । राईले तिहार अगाडि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । प्रदेश १ मा पनि बाग्मती प्रदेशमा जस्तै कांग्रेसले यसअघि आलोपालो सरकार बनाउने प्रस्ताव गरेपनि सो विषयमा केन्द्रमा नै शीर्ष नेताहरु बसेर टुंगो लगाउने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !