काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २० सदस्यीय जम्बो टोलीसहित आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।
कोप २६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी लगायत रहेका छन् ।
यस्तो छ भ्रमण तालिका
नेपाली दूतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने भएका छन् । प्रधानमन्त्री देउवा आज शुक्रबार साँझ लण्डन पुग्नेछन् ।
भ्रमणका क्रममा उनी अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री त्यहाँ रहँदा उनीसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अक्टोबर ३१ गते प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । उनले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछ । उनले वल्र्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । सोही दिन साँझ उनी बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
उनी नोभेम्बर २ को बिहान प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले नोभेम्बर ३ तारेखमा स्कटल्याडको इडिनबर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले नेपाली बगैँचामा बिरुवा पनि रोप्नेछन् ।
कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ । उनी बेलायतबाट नोभेम्बर ३ गते स्वदेश फर्कने र नोभेम्बर ४ तारेख बिहान स्वदेश आइपुग्नेछन् ।