१२ असार २०८१, बुधबार

तिहारपछि बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसदको अर्को बैठक तिहारपछि कात्तिक २९ गते सोमबार दिउँसो १ बजे १८ दिनपछि बस्ने गरी स्थगित गरिएको हो । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गरेर संसदको बैठक अवरोध गरेका थिए ।

एमालेका सांसदहरूले नाराबाजी गर्दै ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘संसदीय मर्यादा कायम गर’ लगायत नारा लगाएका थिए । संसदीय मर्यादा कायम गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्ने जस्ता नारा लगाउँदै एमाले सांसदले बैठकमा अवरोध गरेका हुन् । एमालेले पार्टी फुटाउन भूमिका खेलेको आरोप सभामुख अग्निप्रसाद सापकोटामाथि लगाउँदै आएको छ ।

एमालेको आफूहरूले कारबाही गरेका सांसदको सूची सभामुख सापकोटाले टाँस नगरेको भनाइ रहेको छ । एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो ।

एमालेको अवरोधका वावजुद सभामुख सापकोटाले संसदको कामकारबाही अगाडि बढाएका थिए । यद्यपि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा आम जनजीविकाका विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दै बैठकको कारबाही अघि बढाएका थिए ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट राजीनामा दिएको र उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई नै तोकिएको राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुख सापकोटाले पढेर सुनाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । यसका साथै सभामुख सापकोटाले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसदहरु झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !