१८ असार २०८१, मंगलबार

सिंहदरवारमा काँग्रेस बैठकमै देउवा र पौडेलबीच भनाभन


शेर बहादुर देउवा र रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच बैठकमै भनाभन भएको छ । कांग्रेसको १४ औं महाधिवेशनबारे छलफल गर्न आज मंगलबार केन्द्रीय निर्वाचन समितिले आह्वान गरेको बैठकमा प्रधानमन्त्री देउवा र बरिष्ठ नेता पौडेलबीच चर्काचर्की भएको हो ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा देउवाले वरिष्ठ नेता पौडेलमाथि आक्रोशित हुँदै प्रस्तुत भएका थिए । ‘तपाईं जथाभावी बोल्दै हिँड्नुहुन्छ ? मैले कहाँ महाधिवेशन नगरौं भनेको छु ? तपाईं जे पायो त्यही बोल्नुहुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले बताए ।

देउवाको सो भनाईलाई प्रतिवाद गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘महाधिवेशन त समयमै गर्नु पर्‍यो नि ! विधान त मान्नु पर्‍यो नि ! तपाईं त्यस्तै चरित्र देखाउनुहुन्छ ।’ यसअघि पनि पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममा सभापति देउवाले महाधिवेशन गर्न नचाहेको र चुनावपछि मात्रै महाधिवेशन गर्ने गरी सार्न चाहेको अभिव्यक्ति दिएका थिए ।

बैठकमा निर्वाचन समितिका पदाधिकारीले नेताहरुका कारण महाधिवेशनको प्रक्रिया अघि बढाउन ढिलाइ भएको गुनासो गरेका थिए । देउवा र पौडेलको चर्काचर्की सकिएपछि नेता कृष्णप्रसाद सिटौलाले नेताहरुको झगडा हेरेर निर्वाचन समितिलाई अलमलमा नपर्न भनेका थिए ।

आज साढे ३ बजेदेखि कांग्रेस करिब डेढ घण्टासम्म चलेको बैठकमा धेरै नेता सहभागी नभए पनि बैठक लामो समयसम्म चलेको थियो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्रीहरु प्रकाशशरण महत र सुनिलबहादुर थापा लगायतको सहभागी रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !