काठमाडौँ । निर्वाचन आयोगले चैत ५ गते अगावै स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको छ । आज सोमबार बालुवाटारमा प्रधानमन्त्री देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको हो ।
आगामी जेठ ५ गतेदेखि स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएको आयोगको भनाइ रहेको छ ।
कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने प्रावधान भएकोले निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले जेठ ५ अघि नै चुनाव गर्नुपर्ने देखिएकाले आयोगले सरकारलाई सोहीअनुसार सुझाव दिएको हो ।
आयोगको उक्त सुझावलाई ध्यानमा राखेर यसबारे सरकारले उपयुक्त निर्णय गर्ने आश्वासन देउवाले आयोगलाई दिएका छन् । आयोगको परार्मशमा सरकारले चुनावका मिति तोक्ने व्यवस्था छ ।
आयोगले निर्वाचन सम्बन्धी कानूनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानून बनाउन, मतदाता नामावली दर्तालाई सहज र पहुँचयोग्य बनाउन स्थानीय तहका केन्द्रसम्म पुग्ने गरी आर्थिक र प्राविधिक सहयोग गर्न सरकारलाई आग्रह गरको छ ।
जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँगको परार्मशमा उपचुनावबारे निर्णय लिने र अरु चुनावका विषयमा सरकार तयार रहेको बताए । स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्य पदको उपनिर्वाचनका विषयमा सत्ता साझेदार दलहरू एवम् अन्य राजनीतिक दलसँग छलफल गरी आयोग निष्कर्षमा पुग्नेछ ।