६ बैशाख २०८१, बिहिबार

ओलीका पिता मोहनप्रसादले भने- हेरि राख्नुस्, फेरि मेरै छोरा प्रधानमन्त्री बन्छ


केपी ओली पिता मोहन प्रसाद ओलीसँग

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका ९० वर्षीया बुबा मोहनप्रसाद ओलीले आगामी फागुनपछि फेरि आफ्नै छोरा प्रधानमन्त्री बन्ने बताएका छन् ।

आज आइतबार बिहान काठमाडौंबाट विभिन्न कार्यक्रम लिएर गृहजिल्ला झापा पुगेको आफ्ना छोरा ओलीसँग भेटपछि उनले पत्रकारहरुसँग कुरा गर्दै बहुत आत्मविश्वासका साथ फागुनपछि आफ्नै छोरो प्रधानमन्त्री बन्नुका साथै फागुनपछि ५ वर्षलाई एमालेको एकल बहुमतको सरकार बन्ने समेत भविष्यवाणी गरे ।

आफ्नो छोरालाई आफूले आशीर्वाद दिएको भन्दै मोहनप्रसादले भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’

अध्यक्ष ओली चन्द्रगढी विमानस्थलबाट सीधै भद्रपुर नगरपालिका-१ पृथ्वीनगरमा आफ्ना बुबा मोहनप्रसादलाई भेट्न ओली पुग्दा कार्यकर्ता र समर्थकको पृथ्वीनगरस्थित मोहनप्रसादमा भीड लागिसकेको थियो ।

बुबा मोहनप्रसाद र छोरा केपीबीच करिब आधा घण्टा कुराकानी भएको थियो । घरबाहिरै कुर्सीमा बाबु छोरा बसेर सन्चो बिसन्चोका कुरा गरेपछि ओली कार्यक्रमका लागि विर्तामोडतिर लागेका थिए भने मोहनप्रसादले अबको चुनावमा एमालेले एक्लै बहुमत ल्याउने दावी समेत गरेका हुन् ।

आफ्नो छोरालाई षड्यन्त्र गरेर हटाए पनि जनताले फेरि सत्तामा पुर्‍याउने भन्दै मोहनप्रसादले आफ्नो आशीर्वाद सधैँ रहेको बताए । उनले दुईपटक मिर्गौला फेरेका छोरोलाई अझै २० वर्ष केही नहुने समेत दावी गरे ।

अध्यक्ष ओली तीनको कार्यक्रम लिएर आज आइतबार झापा पुगेका हुन् । अध्यक्ष ओलीसँगै स्थायी समिति सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभु साह पनि रहेका छन् । अध्यक्ष ओलीसहितले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !