बनेपा । पूर्वप्रधानमन्त्री नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गल्ती स्विकार्दै माफी मागे नयाँ ढंगले सोच्न सकिने तर्क गरेका छन् ।
हिजो शनिबार जिल्ला पार्टी कार्यालय उद्घाटन र दसैं तिहार लगायत चाडको शुभकामना आदानप्रदान गर्न बनेपामा आयोजित कार्यक्रममा उनले ओली सुध्रिएलान् भन्ने आशा भने नगरेको बताए ।
एमालेमा ओलीले दास र एसम्यान मात्रै खोजी गरेको भन्दै नेपालले आफू र समूहले साहस गरेर विद्रोह गरेको तर्क गरे । नेपालले पुराना भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए ।
वाग्मती र प्रदेश–१ मा छिट्टै आफ्नो दलको नेतृत्वमा सरकार बन्ने भन्दै उनले अन्य प्रदेशमा पनि आफ्नो पार्टीले सम्मानजनक हैसियत बनाएको दाबी गरे । ललितपुरको गोदावरीमा सम्पन्न एमाले विधान महाधिवशेनलाई ‘तमासा’ को संज्ञा दिँदै उनले खसीबोका, कुखुराको भतेर मात्रै लागेको र विधानको ‘ब’ उच्चारणसमेत नभएको आरोप लगाए ।