५ जेष्ठ २०८१, शनिबार

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीसहितका तीन नेताले जवाफ दिँदै


Nekapa Emale Bidhan Mahadiweshan

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को प्रथम विधान महाविधेशन आज समापन हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा हिजो टोली नेताले सुझाव प्रस्तुत गरेका थिए ।

राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन् ।

विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । हिजो बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएकोमा सोको जवाफ आज तीनै जना नेताले दिनेछन् ।

प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए ।

प्रदेश नं १ बाट देवराज घिमिरे, प्रदेश नं २ बाट ज्वालाकुमारी साह, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट लीला गिरी, कर्णालीबाट गोरख बोगटी र सुदूरपश्चिमबाट कर्ण थापाले आ–आफ्नो समूहबाट छलफलबाट आएका सुझावलाई प्रस्तुत गरे ।

विशेष कमिटी, सम्पर्क कमिटी र प्रवासबाट सुजिता शाक्य, जनसङ्गठनबाट सुनिता बराल तथा केन्द्रीय निकाय र आयोगबाट भानुभक्त ढकालले समूह नेताका रुपमा तीनवटै प्रतिवेदनमाथि सुझाव प्रस्तुत गरे ।

छलफलका क्रममा नेतृत्वको व्यवस्थापनका लागि अनावश्यक पद सिर्जना नगर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थालाई एजेन्डा बनाउन तथा पैसामा टिकट बाँड्नेभन्दा क्षमता र लोकप्रियतालाई आधार मान्न प्रतिनिधिहरुले सुझाएका छन् ।

नेताहरुले जवाफ दिएपछि प्रतिवेदनलाई संसोधनसहित पारित गरेर आजै महाधिवेशन समापन गर्ने तयारी एमालेले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !