७ मंसिर २०८१, शुक्रबार

सर्वदलीय बैठकको निष्कर्ष : एमाले वार्ता र संवादबाट भाग्न खोज्यो


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमालेले बहिस्कार गरेपछि सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसद खुलाउन सकारात्मक भूमिका खेल्न आग्रह समेत गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवाले आजको बैठकमा अनुपस्थित भएपनि फेरि बोलाइने बैठकमा एमाले उपस्थित हुने अपेक्षा व्यक्त गरेका थिए । त्यस्तै बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी थिए ।

स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी थिए भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थिति रहेको थियो । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी थिए ।

यो पनि पढ्नुहोस्

सर्वदलीय बैठक सकियो, संसद खुलाउन सकारात्मक भूमिका खेल्न ओलीलाई आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !