१२ बैशाख २०८१, बुधबार

बाजुराका चार पालिकामा पदाधिकारी सर्वसम्मत


कांग्रेसको क्रियाशील सदस्य

मार्तडी । बाजुराका नौ स्थानीय तहमा भएको अधिवेशनले चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

शनिबारदेखि सुरु भएको अधिवेशनले आज बिहान चार पालिकाका पदाधिकारी सर्वसम्मत चयन गरेको हो । शनिबार भएको अधिवेशनले आज बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, बूढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा सर्वसम्मत पालिकाको नेतृत्व चयन गरेको नेपाली कांग्रेस निर्वाचन समिति बाजुराले जनाएको छ ।

जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) का दुई पालिका र प्रदेश निर्वाचन क्षेत्र (ख) का दुई पालिकाको नेतृत्व आज बिहान चयन गरेको जिल्ला निर्वाचन समिति बाजुराका निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताउनुभएको छ ।

बूढीनन्दा नगरपालिकामा डबलबहादुर खड्का र जगन्नाथ गाउँपालिकामा सुन्दर विष्ट सभापतिमा निर्विरोध निर्वाचित भएको भण्डारीले बताउनुभयो । बूढीगङ्गा नगरपालिकामा जयराज उपाध्याय र गौमुल गाउँपालिकामा राजबहादुर धामी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

यहाँका नौ पालिकामध्ये हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिका, त्रिवेणी नगवरपालिका र खप्तड छेडेदह गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको निर्वाचन अधिकृत भण्डारी बताउनुहुन्छ ।

पालिकाको नेतृत्वका लागि आकाङ्क्षी धेरै भएकाले उनीहरुलाई सहमतिमा ल्याउन पार्टीका शीर्ष नेताले प्रयास गर्दै आएको नेपाली कांग्रेस बाजुराले जनाएको छ । वडादेखि पालिका प्रदेश र जिल्लास्तरमा सहमति कायम गरेर एकताको अधिवेशन बनाउने गरी पार्टीका कार्यकर्ताले महत्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले बताउनुभयो । उहाँले जिल्लाका ६९ वडामध्ये ६८ वडामा सर्वसम्मत वडा कार्यसमिति गठन गरिएको र एक वडामा मात्र मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !