१२ चैत, काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले संघीय संसदलाई राष्ट्रपतिले गर्ने सम्बोधनको मिति तय गरेको ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्ने तय गरेको हो । राष्ट्रपतिले बिहीबार ४ बजे सम्बोधनको समय तय भएको हो ।
त्यस्तै, प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा राज्यमन्त्री सरह सेवासुविधा र हैसियत रहनेगरी अच्युत मैनाली र प्रेस सल्लाहकारमा विशिष्ट श्रेणीको सुविधा प्राप्त गर्नेगरी डा. कुन्दन अर्याललाई नियुक्त गरिएको छ ।
त्यसका अलवा मन्त्रिपरिषद् बैठकमा अर्थ मन्त्रालयले पेश गरेको घरबहाल सम्बन्धी दोहोरो कर नलाग्ने प्रस्ताव पारित गरेको छ । रानीजमरा सिँचाइ लम्कीको जग्गा प्राप्त गर्ने सम्बधी परियोजना सञ्चालन गर्न क्षतिपूर्ति दिने भएको टछ ।
निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइते भएकाहरूको उपचार खर्च र आर्थिक सहयोग गर्ने प्रस्ताव पनि पारित भएको छ । संघीय संरचनामा गइसकेपछि बनेका पदहरूको कूटनीतिक राहदानी प्राप्त गर्ने सम्बन्धमा, जिल्ला समन्वय समितिका संयोजकहरूले पनि उक्त सुविधा प्राप्त गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, गाउँपालिका अध्यक्षहरूले पनि संस्थागत राहदानीको व्यवस्था गरिने भएको छ । सरकारले रक्षा मन्त्रालयको प्रस्तावमा १३ जना महासेनानीको म्याद दुई वर्षका लागि थप गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको विषय भने प्रवेश नभएको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।