पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला पार्टी गठन भएको छ । खिमानन्दप्रसाद पाण्डेयको अध्यक्षतामा १२५ सदस्यीय समिति विस्तार गरिएको हो । पाण्डेयले यसअघि नेकपा एमालेको उपसचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्षमा लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती, सचिवमा मोहनलाल गैरे र उपसचिवमा कमल सेन रहनुभएको छ । झण्डै ५० सदस्य पछि थप्ने गरी जिल्ला समिति गठन गरिएको जनाइएको छ ।
पार्टीको घोषणासभामा नेता सोमप्रसाद पाण्डेयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारण नेकपा (एकीकृत समाजवादी) पार्टी जन्मिएको बताउनुभयो । केपी ओलीले पार्टीको विधिविधान विपरीत कार्य गरेकै कारण नेकपा एमाले विभाजित हुनुपरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा एकीकृत समाजवादीकै केन्द्रीय नेता राजेन्द्रलक्ष्मी गैरेले नयाँ पार्टी विधि विधानअनुसार सञ्चालन हुने बताउनुभयो । उहाँले अहिले सानो पार्टी जस्तो देखिए पनि कार्यकर्ताको आकर्षण यो पार्टीमा रहने बताउनुभयो ।