७ बैशाख २०८१, शुक्रबार

वाग्मती नेकपा (एस) दलको नेतामा पाण्डे चयन : मुख्यमन्त्री बन्ने ढोका खोलियो


राजेन्द्र पाण्डे फाइल फोटो

काठमाडौंँ । वाग्मती प्रदेश नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन् । ज्येष्ठ सदस्य सांसद माधव पौडेलको अध्यक्षतामा आइतबार बसेको नेकपा (एस) को पहिलो संसदीय दलको बैठकले पाण्डेलाई दलको नेताको रुपमा चयन गरेको हो ।

एमालेवाट विभाजन भएर बनेको नेकपा (एस) मा वाग्मती प्रदेशसभा सचिवालयमा सनाखत गरेका १३ सांसदहरुलाई मान्यता दिँदै नामावली सहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएसँगै दलको चयन गरिएको हो ।

बैठकले संसदीय दलको विधान पारित गरेको र अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मुख्यमन्त्री शाक्यको पद धरापमा परेको छ ।

नेकपा (एस) आधिकारीक रुपमा प्रदेशसभा दर्ता भएसँगै वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ । वाग्मतीमा नेकपा (एस) १३ सांसदसहित चौथो दल भएको छ ।

नेकपा (एस) को संसदीय दलको नेतामा चुनिएपछि पाण्डेले अब छिटोभन्दा छिटो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हट्ने दाबी गरेका छन् । दलको नेतामा चयन भएसँगै आफ्नो लागि मुख्यमन्त्री बन्ने ढोका खोलिएपछि पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले मुख्यमन्त्रीलाई हटाउन कम्तीमा तीन विकल्प भएको भन्दै तीमध्ये सबैभन्दा उपयुक्त विकल्प अंगिकार गर्ने बताए । पाण्डको अनुसार बैठकले संसदीय दलको विधान पारित गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !