७ असार २०८१, शुक्रबार

यी हुन् सत्ता गठबन्धनवाट नयाँ मन्त्री बन्न लागेका सम्भावित अनुहारहरु


सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको छ । बालुवाटार स्रोतका अनुसार बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा छलफल हुने बुझिएको छ ।

आजै बस्न लागेको सत्ता गठबन्धनका नेताको बैठकले मन्त्रालयको भागबण्डा गर्न सकेमा बेलुकासम्म नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी गरिएको छ । सरकार बनेको दुई महिना बढी समय भइसक्‍दा पनि मन्‍त्रिपरिषद्‍ले पूर्णता पाउन सकेको छैन ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालयमा बाँडफाँटको तयारी तीव्र पार्दै मन्त्रालय बाँडफाँटमा कुरा मिलेमा आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो । तर सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन । भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन ।

स्रोतका अनुसार मन्त्रालय भागबन्डाबारे जसपा अध्यक्ष यादव असन्तुष्ट छन् । भागबन्डाको विषयमा शुक्रबार बोलाइएको गठबन्ध बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एस) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच चर्काचर्की नै भएको स्रोतको भनाइ छ ।

भौतिक पूर्वाधार, परराष्ट्र, सहरी विकास, संघीय मामिला, स्वास्थ्य जस्ता महत्वपूर्ण मन्त्रालयमा दुवै पार्टीले दाबी गरेपछि सहमति जुट्न नसकेको हो । बालुवाटार स्रोतका अनुसार मन्त्रालयको संख्यामा भने करिब-करिब टुंगो लागेतापनि मन्त्रालयका नाममा भने सहमति जुट्न बाँकी रहेको छ ।

जसपाले नेकपा (एस) सरह मन्त्रालयको संख्या पाउनुपर्ने दाबी गरेको छ । स्रोतका अनुसार जसपा अध्यक्ष यादवले उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालय चाहेका छन् । केही मन्त्रालयमा सबै दलको दाबी रहेको बालुवाटार स्रोतले बताएको छ ।

कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने निर्णय आज बस्ने सत्ता गठबन्धनको बैठकले गर्न सक्ने सम्भावना रहेको छ । बालुवाटार स्रोतका अनुसार यो मन्त्रालय यो पार्टीले पाउने भन्नेमा सहमति हुनासाथ मन्त्रीको शपथ तत्कालै भइहाल्ने बताएको छ । साथै सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा मिलाउन अहिले भएका मन्त्रीको कार्यविभाजन पनि हेरफेर हुन सक्ने प्रचुर सम्भावना रहेको छ ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसबाट नयाँ बन्ने मन्त्रीहरुमा नारायण खड्का, डा. मीनेन्द्र रिजाल, पुष्पा भुसाल, सुजाता कोइराला, उमाकान्त चौधरी लगायतका नेताको चर्चा रहेको छ । उमाकान्त चौधरी कृष्ण सिटौलाको गुटवाट स्वास्थ्यमन्त्री बन्ने प्रवल सम्भावना रहेको छ । सिटौला पक्षको भागबन्डा मिलाउन उमाकान्तलाई जसरी भएपनि मन्त्री बनाउनुपर्ने बाध्यता देउवासामू छ ।

पार्टीमा गगन थापालाई स्वास्थ्यमन्त्री बनाउनुपर्ने चर्को आवाज उठेपनि स्वयं प्रधानमन्त्री शेरबहादुर देउवा थापालाई स्वास्थ्य मन्त्री कुनै हालतमा नबनाउने पक्षमा छन् । यसअघि सिटौला गुटमा भएका यूवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले गुट परिवर्तन गर्दै काँग्रेसमा पौडेल पक्षवाट आगामी महाधिवेशनमा महामन्त्री पदमा लड्ने घोषणा नै गरिसकेका छन् ।

यस्तै सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले उपसभामुख पाउनुपर्ने अडान राखेकोले उपसभामुखसहित ७ मन्त्रालयमा उसको दाबी रहेको छ । स्रोतका अनुसार सत्तारुढ दलको बैठकमा ७ मन्त्रालयको विषयमा कुराकानी भए पनि ६ मन्त्रालय दिने तयारी गरिएको बताइएको छ ।

नेकपा (एकीकृत समाजवादी) वाट नयाँ बन्ने मन्त्रीहरुमा शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, विरोध खतिवडा, किसान श्रेष्ठ, सरला यादव लगायतको नाम चर्चा भएपनि अझसम्म निर्णय भने भइनसकेको छैन ।

माओवादी केन्द्रले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै मन्त्रीका विषयमा निर्णय गर्ने तयारी गरेको छ । यसअघि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।

नेकपा (एस) सरकारमा सहभागी हुने भएपछि माओवादीको भागमा मुस्किलले ८ वटा मन्त्रालय पर्न सक्ने सम्भावना रहेको छ । माओवादीवाट दुई जना मन्त्री बनिसकेकोले अव ६ जनासम्म नयाँ मन्त्री बन्नसक्ने देखिन्छ । माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुनेगरी मन्त्री बनाउने तयारी गरेको छ।

माओवादीवाट मन्त्री बन्न लागेका सम्भावित अनुहारहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ लगायतको नाम नयाँ मन्त्रीका रुपमा चर्चा रहेकोमा श्रेष्ठले उपप्रधानमन्त्रीसहित सरकारमा जाने इच्छा देखाएको माओवादी स्रोत बताउँछ ।

गजुरेल र पौडेललाई प्रचण्डले यसअघि नै मन्त्री बनाउने प्रयास गरेपनि त्यसमा सफल भएका थिएनन् । यसपटक गजुरेल, पौडेल र गुरुङको नाम मन्त्रीका लागि चर्चामा छ । तर गुरुङले भने श्रीमती यशोदा सुवेदीलाई मन्त्री बनाए आफ्नो दाबी छाड्न सक्ने बताइन्छ । सुदन किराती, सन्तकुमार थारु र महेश्वर गहतराजको नामसमेत मन्त्री हुने चर्चामा रहेको छ ।

मधेशबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । यादवले यसअघि अवसर पाइसकेकाले मोदी र मण्डलमध्ये एक जना मन्त्री हुने सम्भावना बलियो छ ।

महिलाबाट पम्फा भुसाल मन्त्री भइसकेकाले अब बढीमा २ जना महिलाले मन्त्री हुने अवसर पाउनेमा जयपुरी घर्ती, अन्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ । नारायणकाजी श्रेष्ठ मन्त्री नभएमा उनको समूहबाट अन्जना बिशंखे र शशि श्रेष्ठमध्ये एक जना मन्त्री हुन सक्ने देखिएको छ। नारायणकाजी मन्त्री भएमा चाहिँ जयपुरी घर्तीको मन्त्री बन्ने सम्भावना बलियो छ।

जनता समाजवादी पार्टीले पनि मन्त्रालय हेरेर उपेन्द्र यादवको नेतृत्वमा जाने कि राजेन्द्रप्रसाद श्रेष्ठको भन्ने विषयमा निर्णय गर्ने एक नेताले जानकारी दिए । परराष्ट्र नभए कुनै महत्वपूर्ण मन्त्रालय चाहेका छन् । जसपाले उपप्रधानमन्त्री पाए अध्यक्ष यादव पार्टीबाट नेतृत्व गर्दै सरकारमा जाने मुडमा छन् । तर उपप्रधानमन्त्री नपाए राजेन्द्र श्रेष्ठ वा महेन्द्र यादवलाई पार्टीबाट नेतृत्व गर्दै सरकारमा पठाउने सोचमा उनी छन् ।

यो पनि पढ्नुहोस्

संसदमा रणनीति र मन्त्रिपरिषद् विस्तारमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

सभामुखविरुद्ध शशक्त प्रतिवादको रणनीति बनाउन एमालेको संसदीय दलको बैठक आज बस्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !