७ बैशाख २०८१, शुक्रबार

देउवा सरकारप्रति गगनको आलोचना : एकपछि अर्को गलत निर्णय गर्न थाल्यो


गगन थापा

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता समेत रहेका सांसद गगन थापाले आफ्नै पार्टीको सरकारले एकपछि अर्को गलत निर्णय गर्न थालेको आरोप लगाएका छन् ।

आज सोमबार काठमाडौंमा कांग्रेस सिन्धुपाल्चोक-२ द्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले जयसिंह धामीदेखि सडकमा बोल्न नपाउनेजस्ता गलत निर्णय गर्न थालेकोले निन्द्रामा रहेको देउवा सरकारलाई झकझकाउने उचित समय आएको उनले बताए ।

उनले प्रतिनिधिसभाको बाँकी अवधिभर सरकारले जनताको ढोका खोल्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताए । थापाले कांग्रेसले आगामी निर्वाचनमा कसैको काँधमा नचढी बहुमत प्राप्त गर्न जनताको मन जित्ने राम्रा काम गर्नुपर्ने पनि बताए ।

पार्टीको विधि विधान विपरीत काम भएकाले कांग्रेस कमजोर भएको भन्दै उनले विधि विधान अनुरूप नै पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए । यसरी आफ्नै पार्टीको सरकारको सिर्जनात्मक आलोचना गर्दै थापाको सुझावलाई देउवाले यसअघिदेखि नै हल्का रुपमा लिंदै आएका छन् ।

नेपालमा नेताहरुले आफ्नो पार्टीको सरकार हुँदा जे पनि ठिक भन्दै हनुमान बन्ने गरेकोमा थापाको यस्तो आलोचनालाई दल भन्दा माथि उठेर देश र जनताको लागि बोलेकोमा सकारात्मक मान्नैपर्छ । देउवाले पनि बिनासको बाटो छोडेर देश विकासको बाटोमा अग्रसर हुन भन्ने कामना मात्र गर्न सकिन्छ ।

विगतमा स्वास्थ्य मन्त्री भएको बेला स्वास्थ्य बीमाको अवधारणा ल्याएएर प्रशंशनीय भूमिका खेलेका थापालाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने चर्को आवाज उठेपनि देउवाले सो कुरालाई बेवास्ता गर्दै आएका छन् ।

यसअघि कांग्रेसमा कृष्ण सिटौला समूहमा रहेका थापाले संस्थापनइतर पौडेल समूहवाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरिसकेका छन् । थापाले गत भदौ १४ गते काठमाडौं महानगरपालिका-३० मा भएको कार्यक्रमबाट महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !