५ जेष्ठ २०८१, शनिबार

प्रदेश १ मा एमालेलाई झड्का : १० जना सांसदले दल त्याग गरेको पत्र आयोगलाई बुझाउँदै


राजेन्द्र राई

विराटनगर । ‘लहरो तान्दा पहरो थर्कन्छ’ भनेझैँ नेकपा एमाले विभाजन भएसँगै यसको असर प्रदेशमा पनि परेको छ । एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वको समूहले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरी निर्वाचन आयोगवाट भाद्र ९ गते बुधबार साँझ प्रमाणपत्र समेत पाइसकेका छन् ।

आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको पत्र संसद् सचिवालयलाई पनि भाद्र ११ गते शुक्रबार पठाइसकेको छ । आयोगले सो पार्टी राष्ट्रिय मान्यता प्राप्त दलको रुपमा दर्ता भएको भन्दै संसद सचिवालयलाई शुक्रबार पत्र पठाएर जानकारी गराएको थियो ।

माधव कुमार नेपालको नेतृृत्वमा सो पार्टी नेपाल बुधबार आयोगमा सनाखत गरेपछि दलको मान्यता पाएर दर्ता भएका थिए । आयोगको पत्र सचिवालयमा आएपछि अब संसदभित्र पनि नेकपा (एस) ले छुट्टै संसदीय दलको रुपमा मान्यता प्राप्त गरेका छन् ।

दल विभाजन भएपछि नेकपा एमाले त्यागेर नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका प्रदेश १ का १० सांसदहरूले मंगलबारभित्र आफूहरूले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगलाई दिने तयारी गरेका छन् ।

उनीहरुले आज शनिबार विराटनगरको एक होटेलमा छलफल गरी यस्तो सामुहिक निर्णय गरेका हुन् । १० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् ।

उनीहरुले निर्वाचन आयोगमा मंगलबार आफूहरुले समाजवादी दल रोजेको पत्र दिने निर्णय गरेको हो । समाजवादीका एक नेताका अनुसार पर्सी सोमबार बिदा भएकाले मंगलबार निर्वाचन आयोगमा सनाखत गर्ने तयारी गरेका हुन् । एकीकृत समाजवादीमा न्यूनतम १४ जना प्रदेश सांसद पुर्याउने उनले दाबी गरे ।

आज बसेको बैठकमा सहभागी ती सांसदले भीम आचार्य नेतृत्वको सरकार ढल्ने र गठबन्धनको सरकार एक महिनाभित्र बन्ने निष्कर्ष निकालेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !