काठमाडौं । निर्वाचन आयोगले संघीय संसद सचिवालयसँग माधव नेपाल समूहका सांसदहरुकाे विवरण मागेको छ । एमालेबाट विद्रोह गरेर नेपाल एकीकृत समाजवादी पार्टी दर्ताको लागि आयोगमा निवेदन दिएपछि आज आइतबार संसद सचिवालयलाई पत्र काटेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राजनीतिक दल बिभाजन सम्वन्धी अध्यादेश जारी गरेलगत्तै नेपालले आयोगमा नयाँ दल दर्ताको निवेदन दिएका थिए । सरकारले केन्द्रीय कमिटी वा संसदमा २० प्रतिशत मात्रै संख्या भएपनि नयाँ पार्टी गठन गर्न मिल्ने गरी अध्यादेश ल्याएको थियो ।
एमालेबाट विभाजन भएर नयाँ पार्टी दर्ता गरेको निवेदनमा हस्ताक्षर गरेका संघीय संसदका सदस्यहरुको नामावली सहितको विवरण संसद सचिवालयमा पठाई सो निवेदनमा हस्ताक्षर गर्ने संघीय संसदका सदस्यहरु उक्त दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवाद लेनिनवादी) संसदीय दलको २० प्रतिशत वा सो बढी रहे नरहेको पत्राचार गरेर संसद सचिवालयलाई जानकारी गराउन पत्राचार गरेको हो ।