२२ भाद्र २०८१, शनिबार

अध्यादेश जारी भएसँगै दल दर्ताको लागि आयोग जाने तयारीमा महन्थ ठाकुर पक्ष


महन्थ ठाकुर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश जारी गरेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताको लागि निर्वाचन आयोग जाने तयारीमा गरेको छ ।

राष्ट्रपति भण्डारीबाट अध्यादेश जारी भएसँगै ठाकुर पक्ष आयोगमा गएर नयाँ दल दर्ता गर्ने तयारीमा जुटेको हो । महन्थ ठाकुरको नेतृत्वमा दर्ता हुन लागेको नयाँ पार्टीको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिह्न साइकल राख्ने तयारी गरिएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले यो अध्यादेश जारी गरेसँगै (जसपा) नेपालको ठाकुर पक्षलाई अव पार्टी विभाजन गर्न सहज भएको हो । ठाकुर पक्षका एक नेताका अनुसार आयोगमा जानका लागि तयारी भईरहेकोले भरसक आजै आयोग गएर नयाँ दल दर्ताको निवेदन दिने तयारी गरिएको हो ।

राजनीतिक दल विभाजन सम्बन्धी शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश जारी गर्नको लागि हिजो राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । तर सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्

निर्वाचन आयोगमा दल दर्ता गर्न हस्ताक्षर संकलन गर्दै माधव नेपाल समूह

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !