२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाको शून्य समयमा तुइनदेखि सीमा अतिक्रमणका समस्या उठान


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई सुझाव दिएका छन् । राष्ट्रियसभाको आजको शून्य समयमा भाग लिने सदस्यहरुले तुइन प्रकरण र भूमि फिर्ताका विषयमा भारतसित वार्ता गर्न सरकारसँग माग गरे ।

शून्य समयमा नेकपा एमालेका सांसद दिपा गुरुङले दार्चुलाको तुइन घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) दोषी भएकाले कारवाहीको पहल गर्न सरकारसँग माग गरे । उनले महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्र्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेका सांसद नैनकला ओझाले भारतद्वारा अतिक्रमित लिम्पयाधुरा, कालापानी र लिपुलेकलाई समेटेर चुच्चे नक्सा जारी गरिए पनि अब उक्त भूमि फिर्ताका लागि पहल गर्नुपर्ने बताए । उनले अतिक्रमित भूमि फिर्ता ल्याउन भारतसँग कूटनीतिकरूपमा वार्ता गर्न सरकारसँग माग गरे ।

यस्तै नेकपा एमालेका सांसद नन्दा चपाईंले पछिल्लो समय देशभर महिला हत्या हिंसा र बलात्कारका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । महिला हत्या हिंसा र बलात्कारका घटनामा कमी ल्याउन उचित कदम चाल्न उहाँले सरकारसँग माग गरे ।

यसैगरी नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले अपाङ्गता भएका व्यक्ति अझै पनि आफ्नो हकअधिकारबाट वञ्चित भएको बताए । अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको हकअधिकार दिलाउन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !