काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन् । आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता नेपालले अहिले पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका हुन् ।
आफूहरुले दक्षिणपन्थी विचारविरुद्ध संघर्ष गर्दै आएको र यसका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए । पार्टी एकताका लागि प्रयत्न गर्नुपर्ने भन्दै उनले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।
आज बसेको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा स्वागत गर्ने निर्णय गरेको छ । नेता रघुजी पन्तले पार्टी एकताको ‘च्याप्टर क्लोज’ नभएको बताएका छन् ।
उनले पार्टी एकता हुनुपर्नेमा जोड दिए । विभाजनतर्फ गए अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्ष दुबैको सर्वनाश हुने उनले बताए । आजको केन्द्रीय कमिटी बैठकमा ३५ जना केन्द्रीय सदस्यले धारणा राखेकोमा अधिकांशले सम्मानजक पार्टी एकतामा जोड दिएका थिए ।
आजको बैठकले पार्टी सदस्यता नवीकरणका काम तत्काल रोक्न अध्यक्ष ओली पक्षलाई माग गरेको छ। पार्टी एकताका काम भइरहेका बेला पार्टी सदस्यता नवीकरण गर्न नहुनेमा बैठकले ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।