काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको स्थायी कमिटी बैठक शुरु भएको छ । केही समयअघि शुरु भएको बैठकमा मन्त्री छान्नेबारे निर्णय लिईने नेताहरुले जनाएका छन् ।
आज जारी बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नको लागि ढिलाई भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नाम मागेपछि आज दाहालले स्थायी कमिटी बैठक राखेका हुन् ।
त्यस्तै, आजमात्रै सत्ता गठबन्धनको कार्यदलले सरकारको लागि तयार पारेको साझा न्यूनतम कार्यक्रमको बारेमा पनि छलफल गरिने ती नेताले जनाए । माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेर को जाने भन्ने विवाद छ ।
अहिले पार्टीबाट सरकारमा नेतृत्व गरेर जानुपर्ने भन्दै नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराले दाबी गरेको बुझिएको छ । स्रोतका अनुसार माओबादीवाट कृष्णबहादुर महरा, देव गुरुङ, सुदन किराँती, देवेन्द्र पौडेल लगायत नेताहरु मन्त्री प्रवल सम्भावना रहेको छ ।