११ बैशाख २०८१, मंगलबार

उपेन्द्र यादव जसपा संसदीय दलको नेतामा चयन


प्रतिनिधिसभाको विशेष बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।

निर्वाचन आयोगले यादवले नेतृत्व गरेको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्री समेत रहेका यादव सर्वसम्मति रुपमा दलको नेता छानिएका हुन् ।

नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा. बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव थिए । सो दलको आज बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका २ सांसद उपस्थित थिए ।

विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले आज शनिबार संसदीय दलको नेता सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा चुनाव गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभामा जसपाका कुल ३४ सांसदमध्ये २ जना निलम्बित छन् । बाँकी ३२ मध्ये १० जना महन्थ ठाकुर पक्षमा छन् भने बाँकी २२ जना यादवको पक्षमा रहेका छन् ।

यसअघि नै बैठकले संसदीय दलको विधान पारित गरिसकेको छ । देउवा सरकारमा उपप्रधानमन्त्री पाउने अवस्थामा पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने सम्भावना रहेको स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !