६ असार २०८१, बिहिबार

प्रधानमन्त्री देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठक जारी, प्रदेश प्रमुख हेरफेरको निर्णय गर्न सक्ने


मन्त्रिपरिषद्को बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्न सक्ने बालुवाटार विशेष स्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवाले तत्काल तीन वटा प्रदेशका प्रदेश प्रमुख हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख हटाउने तयारी गरेका हुन् ।

हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख रहेका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जबर्जस्ती परिवर्तन गरेका सवै प्रदेश प्रमुखहरु विस्तारै फेरिने संकेत देखिएको छ । सम्भवत: यहि हप्ताभित्र नयाँ प्रदेश प्रमुख नियुक्त हुने विशेष स्रोतले जानकारी गराएको छ ।

यसैगरी प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री ओलीले गरेका नियुक्ति गरेका सातवटै प्रदेशमा प्रदेश प्रमुखहरुलाई हटाउनका लागि देउवाले तयारी गरेका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सातवटा प्रदेशमा गठबन्धनका दलहरुसँग छलफल गरी नियुक्तिको तयारीमा देउवा लागेका हुन् ।

सातवटा प्रदेशमध्ये काँग्रेसवाट २ जना, माओवादी केन्द्र २ जना र नेकपा एमालेको माधव नेपाल खेमाबाट २ जना र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबाट १ जना पर्ने गरी प्रदेश प्रमुख नियुक्तिको तयारी बढाइएको छ ।

यसअघि ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन: नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको स्रोतको भनाइ छ ।

आज मात्र नेकपा माओवादी केन्द्रले यसअघि ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु