१९ असार २०८१, बुधबार

निर्वाचन आयोगमा जसपा नेताको ‘हेड काउन्ट’: यादवको पक्षमा दुई तिहाइ


उपेन्द्र यादव

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर हेड काउन्ट गरेको छ ।

आज सोमबार बिहान ११ बजे उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बोलाएर आयोगले सनाखत गरेको हो । आयोगले जसपा आधिकारिकता विवादबारे आज निर्णय गर्ने छ ।

अहिले आयोगको कार्यालयमा दुवै पक्षका कार्यकारिणी सदस्यहरु रहेका छन् । जसपामा यादव पक्षको कार्यकारिणी समिति र संसदीय दल दुवैमा बहुमत रहेको दावी गरेको छ ।

आयोगले आज हेड काउन्ट गर्ने भनेपछि यादव पक्षका कार्यकारिणी समिति सदस्यहरु हिजोदेखि नै गोदावारी रिसोर्टमा जम्मा भएर बसेका थिए । दुवै पक्षका कार्यकारिणी सदस्यहरुको सनाखतपछि जसपाको आधिकारिकता टुँगो लगाउने आयोगको तयारी गरेको छ ।

प्राप्त जानकारी अनुसार जसपाको आधिकारिकताका लागि अध्यक्ष उपेन्द्र यादवको पक्षमा दुई तिहाइ सदस्‍यले सनाखत गरेका छन् । ५१ सदस्यीय कार्यकारिणी समिति रहेको जपसाका ३४ जना सांसदले आफूहरूको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष उपेन्‍द्र यादवले जानकारी दिए ।

उनका अनुसार यादवका डिल्ली बजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई सनाखत गराउन आयोगमा ल्याउने तयारी भइरहेको छ । उनले चौधरी आएसँगै आफ्नो पक्षमा ३५ जना कार्यकारिणी सदस्य पुग्ने दाबी गरे ।

आज नेताहरूको सनाखतपछि आयोगको इजलास बसेर आधिकारिकताबारे निर्णय गर्नेछ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।

सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको छ । ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !