११ बैशाख २०८१, मंगलबार

भीम रावलले फिर्ता लिए सांसद पदबाट दिएको राजीनामा


भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफूले सांसद पदबाट दिएको राजीनामा आज शुक्रबार फिर्ता लिएका छन् । साउन ३ गते सांसदबाट राजीनामा दिएका रावलले आज फिर्ता लिएका हुन् ।

प्रतिनिधिसभा सदस्यबाट राजीनामा घोषणा गरेका रावल आफ्नो निर्णयबाट पछि हटेका हुन् । रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको जानकारी दिएका थिए ।

एमाले विवाद समाधानका लागि नेपाल समूहबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजक समेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

उनले पछिल्लो समयममा प्रतिनिधिसभाको विघटनदेखि पुन:स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म उच्च राजनीतिक नेतृत्व तहमा जनताको हितभन्दा निजी स्वार्थ देखिएको आरोप समेत लगाएका थिए ।

साउन ३ गते बसेको प्रतिनिधिसभा बैठकमा ओली समूहका केही सांसदसहित माधव नेपाल लगायत २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । तर अध्यक्ष केपी ओली समूहका अधिकांश संसदले भने संसदीय दलको बैठकबाटै देउवालाई विश्वासको मत नदिने निर्णय गरेर विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।

स्रोतका अनुसार एमाले एक बनाउन ओली समूहसँगको वार्तालाई अघि बढाउन वरिष्ठ नेता माधव नेपाल तयार भएपछि उनले राजीनामाबाट पछि हट्ने निर्णय लिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै नेताले रावललाई तत्काल सांसदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

रावललाई राजीनामा फिर्ता गर्न हिजो नेपाल उनको निजी निवास टोखामै पुगेर छलफल गरेका थिए । नेपालले रावललाई भेटेर दायाँ बायाँ नसोची राजीनामा फिर्ता लिन विशेष आग्रह गरेका थिए । उक्त आग्रहपछि रावलले नेपाललाई यस विषयमा सोच्ने बताएका थिए । रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसदहरु र नेताहरुले दबाब दिएका छन् ।

राजीनामा घोषणा गर्ने दिन पनि अर्का नेता सुरेन्द्र पाण्डेले रावललाई रोक्न प्रयास समेत गरेतापनि रावलले संसद भवन परिसरमै राजीनामा पत्र बाचन गरेका थिए । नेता नेपालले कार्यदलको १० बुँदे सहमति अनुसार एमालेमै रहेर अघि बढ्ने प्रतिवद्धता जनाएपछि रावल राजीनामाबाट पछि हटेका हुन् ।

यद्यपि एमालेमा रावल नेपालनिकट नेताको रुपमा मानिन्छन् तर पछिल्लो समय उनी कार्यदलको संयोजकमा रुपमा काम गरेर १० बुँदे सहमति गरेपछि अध्यक्ष ओलीसँग नजिक भएको चर्चा पनि चलेतापनि रावलले भने यसमा कुनै सत्यता नभएको स्पष्ट पार्दै आएका थिए । अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद रावलले सभामुख अग्नि सापकोटा समक्ष आफ्नो राजीनामा बुझाएका थिए ।

यो पनि पढ्नुहोस्

भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने संकेत

माधव नेपाल समूहको स्थायी कमिटी बैठकमा भीम रावल अनुपस्थित

भीम रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन

एमाले उपाध्यक्ष भीम रावलद्वारा सांसद पदबाट राजीनामा दिएको घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !